काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीको उद्देश्य माओवादीलाई सिध्याउने भएको बताएका छन् ।
आज (बिहीबार) ललितपुरको महालक्ष्मीस्थानमा नेपाल संवत् ११४२ को अवसरमा नेवा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले माओवादीलाई सकाउन खोजेको बताएका हुन्।
माओवादीलाई कमजोर नपारेसम्म सामन्ती, दलाल र पुँजीपतिहरूको स्वार्थ पूरा नहुने उनले बताए।
प्रतिक्रियावादीहरू बडो सचेत छन्। उनीहरूले ताकेर माओवादीलाई हिट गर्ने, उनीहरूको उद्देश्य माओवादी नसिध्याएसम्म माओवादीलाई कमजोर नपारेसम्म उनीहरूको हिजोको सामन्ती भनौँ या हिजोको दालाल, पुँजीपतिहरूको स्वार्थ पूरा हुँदैन, उनले भने।
उनले थपे, त्यसकारण माओवादीलाई नसिध्याएसम्म देशले सुख पाउँदैनन् भन्छन्। हामी के भन्छौँ- माओवादीबिना जनताले सुख पाउँदैनन्। ती प्रतिक्रियावादी जाली फटाहाहरूले दुक्ख पाउँछन् माओवादी बलियो भयो भने। त्यो साँचो कुरा हो। हामी तिनलाई दुक्ख परोस् भन्ने चाहन्छौँ जनतालाई सुख होस् भन्ने चाहन्छौँ।
त्यस्तै, केही विद्वानहरूले पनि प्रचण्डलाई सिध्याउन खोजेको उनले बताए।