बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सो क्षति भएको हो ।
जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सिगास , शिवनाथ,सुर्नया, दोगडाकेदार गाउँपालिका र दशरथचन्द र पाटन नगरपालिकाबाट सङ्कलित अन्नबाली क्षतिको तथ्याङ्कअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको हो ।
जिल्लाका अन्य स्थानीय तहहरुमा भएको क्षतिबारे विवरण सङ्कलनको काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
उनले भने, ‘वर्षाले आवतजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण सङ्कलन गर्न ढिलाइ भएको हो ।’ जिल्लाको सिगासमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ ।
सिगासको ढुङ्गाड र थलाकडामा मात्रै एक हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति पुगेको जिप्रकाले जनाएको छ । यसका साथै क्षतिको विवरण सङ्कलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंशिक क्षति पुगेको छ ।
यस्तै तीन वटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ । भौतिक संरचना गरेर यहाँ एक अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ ।
तथ्याङ्क सङ्कलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ । किसानले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो ।
धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठुलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन् । उक्त वर्षाका कारण पहिरोले घर पुरिँदा जिल्लाको शिवनाथका तीन र सुर्नयाका एक जनाको ज्यानसमेत गएको थियो ।