काठमाडौँ । नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनलाई स्वास्थ्योपचारका लागि चीनको सेन्जेन लगिएको छ ।
डेढ महिनासम्म थाइल्यान्डमा उपचार गराउँदा पनि ठोस सुधार नभएपछि उनलाई चीन लगिएको हो ।
चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्सेजमा पुनको उपचार हुनेछ । उनीसँग पत्नी ओनसरी घर्ती र छोरी शिला रहेका छन् । उनीहरू बैंककबाटै सेन्जेनतर्फ प्रस्थान गरेको पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।
जटिल प्रकृतिको जन्डिसबाट पीडित नेता पुनको बैंककस्थिति समितिभेज अस्पतालमा डेढ महिनासम्म उपचार गराइएको थियो । त्यहाँका चिकित्सकहरुको सल्लाहमा सेन्जेन लगिएको बुझिएको छ ।
काठमाडौँबाट बैंकक लैजाँदा पुनमा जन्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ ।
जन्डिससँगै शरीरका अन्य अङ्गहरूमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको बताइएको छ ।
जन्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा ललितपुरस्थित सुमेरु अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा उनको उपचार भएको थियो ।
यसअघि जन्डिसकै कारण स्वास्थ्य अवस्था गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए ।
उपचारपछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जन्डिस दोहोरिएको थियो ।