राँझा । बाँके र बर्दिया जिल्लाका विभिन्न सडकमा सञ्चालन भएका दर्जनभन्दा बढी पक्की पुलको मर्मतसम्भार कार्य भइरहेको छ ।
बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मतसम्भार कार्य भइरहेको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिममा मानखोलादेखि पूर्वमा शिवखोलासम्म बाँकेका १५ र बर्दियाका ७ गरी कूल २२ पुलको मर्मत, सम्भार कार्य भइरहेको पुल योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार पुलको जोडेको भाग, फुटेको र चर्केको स्थान, बेरिङ सफा गर्ने र ग्रिसिङको काम भइरहेको छ । पुरानो र जीर्ण भएकाले पुलको मर्मतको आवश्यकता भएको बताउँदै उनले मर्मत सम्भार गरेपछि पुल अझैँ २० वर्षसम्म टिक्ने बताए । यी पुल आइआरसी क्लास ‘ए’ निर्माण भएका पुल भएको उनको भनाइ छ ।
पुल करिब ४० वर्ष पुराना भइसकेकाले मर्मतसम्भार गरिरहनुपर्ने अवस्था आएको छ । ४० वर्ष पुराना भए पनि यी पुलको आयु ५० देखि ७५ वर्ष रहेकाले मर्मत सम्भार गर्दै सञ्चालनमा ल्याउने काम भएको पुल योजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले जानकारी दिए ।
भारतीय मापदण्डअनुसार निर्माण भएका पुराना पुलको क्षमता यकिन नभए पनि अधिक भारका सवारीसाधन सञ्चालन भएकाले पुलको आयु घट्दै गरेको उनको भनाइ छ ।