काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण द्रुत गतिमा फैलिन थालेको छ। काठमाडौँ उपत्यका, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक सङ्क्रमितको सङ्ख्या उच्च छ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि हुँदै गएको छ। मुलुकभर दैनिक पुष्टि हुने सङ्क्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मङ्गलवार काठमाडौँमा मात्रै ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ। ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना सङ्क्रमित थपिएका छन्।
पछिल्लो समय मङ्गलवार मात्रै सबैभन्दा उच्च १० हजार २ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ। परीक्षण गरेकामध्ये झन्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
उपत्यका बाहिरका मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, रुपन्देही र कैलाली जोखिमको सूचीमा परेका छन्। यी जिल्लामा ५ सयभन्दा माथि सङ्क्रमित अस्पताल भर्ना भएका छन्।
भारतबाट फर्केकाहरू सीमा नाकामा ‘होल्डिङ’नहुँदा कतिपय सीमावर्ती जिल्ला हटस्पट बनिरहेका छन्। खुला सीमाका कारण नरोकिएको आवतजावत र भिडभाडले कोरोना सङ्क्रमण बढेको हो। धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुरमा पनि कोरोना सङ्क्रमित दैनिक बढिरहेका छन्।