लन्डन । संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् ।
प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घण्टामा कोभिडबाट २ हजार भन्दा बढीको ज्यान गएको छ ।
बुधवारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो सङ्क्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।
यहाँ दैनिक ६ लाखभन्दा बढी नै सङ्क्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने सङ्क्रमण दर पनि धेरै रहेको पाइएको छ ।
यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो ।