काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीमा ल्याउनु जनयुद्धकै योगदान रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुई मत हुनै नसक्ने बताएका हुन् ।
२७औँ जनयुद्ध दिवसको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा शुभकामना व्यक्त गर्दै माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न विशेष अनुरोधसमेत गरेका छन् ।
दिवसको सन्दर्भमा अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक/शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरेका छन् । ‘देशी–विदेशी प्रतिक्रियावादी शक्ति जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन्, छरिएर रहेका माओवादी घटकलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात् गर्दै एकताबद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्ति एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।
नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि मुक्तियुद्धका रूपमा स्थापित भइसकेको र जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात् मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको स्मरण गरे ।
उनले दिवसको मनाउनुको सबैभन्दा ठुलो अर्थ, महत्त्व र औचित्य परिवर्तनकारी क्रान्तिकारी शक्तिबीचको एकता भएको विश्वाससहित पुनः एक पटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र श्रमजीवी नेपाली जनसमुदायमा बधाई र शुभकामना व्यक्त गरेका छन् ।