काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।
आज (बिहीबार) साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।
उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताएका छन् ।
तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौँ । पाँच दललाई कसरी बचाउने र एमसिसीलाई कसरी निकास दिने भन्ने छ ।’
बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने उनले बताए । प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’