काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले एमसीसीका विषयमा आज (शनिवार) निर्णय लिने भएको छ।
शुक्रबारदेखि जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा छलफल गरिरहेको छ। शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा कार्यकारिणी सदस्यहरूलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो।
कार्यकारिणी बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्यको समीक्षा र समायोजनको सम्बन्धमा छलफल हुनेछ।
जसपा नेता प्रकाश अधिकारीका अनुसार बैठकले कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरूको कार्य समीक्षा र केन्द्रीय समिति तथा सङ्घीय परिषद्को बैठकको सम्बन्धमा छलफल गर्नेछ।
सत्तारुढ सबै राजनीतिक दलहरूले एमसीसीको सम्बन्धमा धारणा स्पष्ट गरिसकेको भए पनि जसपाले यसबारे हालसम्म औपचारिक धारणा स्पष्ट पार्न सकेको छैन। पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच एमसीसीको विषयमा फरक–फरक मत रहेको नेताहरूले बताउने गरेका छन्।
पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छन्। अध्यक्ष उपेन्द्र यादव भने एमसीसीका विषयमा मौन देखिएका छन्।