लमजुङ । रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा निर्माण भइरहेको पुलको काम पाँच प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
वडा नं ५को सिङ्दी, वडा नं ६ को पसगाउँ र कास्कीको मादी गाउँपालिका वडा नं ८ जोड्ने उक्त पुल यही फागुन महिनाभित्र सम्पन्न हुने उक्त कार्यालयका इन्जिनियर लोकेस राईले जानकारी दिए ।
उनका अनुसार अब पुलमा रङ्गरोगन गर्नेलगायत काम मात्र बाँकी रहेकाले यसै महिनाभित्रमा सम्पन्न हुने उनको भनाइ थियो ।
विसं २०७७ भदौ १४ गते बोलपत्र गरेर निर्माण अघि बढाइएको उक्त पुल आगामी चैत १३ गते सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समय अगावै निर्माणकार्य सम्पन्न हुने भएको छ ।
प्रदेश सरकारको रु दुई करोड ८० लाख ६६ हजार ७४५को लागतमा निर्माण भइरहेको उक्त पुल निर्माण पछि दुवै जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् ।