बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको सहयोग लिनु नेपालको अधिकार भएको बताएका छन् ।
उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि अमेरिकाले एमसीसी परियोजना ल्याएकाले नेपालले आफ्नो अधिकार प्रयोग गर्दै माग गरेको बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीले मङ्गलवार तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा उत्पादित बिजुली विदेशमा बेच्न प्रसारण लाइन र सडक बनाउनु राष्ट्रघाती नहुने दाबी गरे ।
उनले नेपालका धेरै कम्युनिस्ट पार्टी एमसीसीका विषयमा दोधारमा रहेको पनि टिप्पणी गरे । उनले भने, ‘कम्युनिस्टहरू सरकारमा हुँदा माइतीघर मण्डलामा विरोध गर्न पाइँदैनथ्यो, तर अहिले संसदबाट एमसीसी पारित हुँदा पनि विरोधमा प्रदर्शन गरिरहेका छन्, सरकारले सुरक्षा दिएको छ ।’
गृहमन्त्री खाँणले काँग्रेस जहिले पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै वर्तमान सरकार पनि आलोचना सहन तयार रहेको बताए ।