काठमाडौँ । गृह मन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुङ्ग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ ।
बुधवार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुङ्ग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूलाई सहयोग लिने बताए ।
नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनैतिक रूपमा आम सहमति बन्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरू र पार्टी अध्यक्षहरूलाई जानकारी गराइने उल्लेख गर्दै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जन्मसिद्ध नागरिक र अङ्गीकृत नागरिकलाई सबैभन्दा बढी समस्या भइरहेको बताए ।
उनले नागरिकता नपाउँदा राज्यका सेवा, सुविधाबाट वञ्चित भइरहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।
मन्त्री बडूले नागरिकताको विषय धेरै पेचिलो बन्दै गएको र यो विषय दलीय सहमतिमा लगेर तत्काल टुङ्ग्याउन आवश्यक रहेको बताए ।
मन्त्री बडूले धेरै समय नागरिकहरूलाई नागरिकता विहीन बनाउनु नहुने भन्दै यसको समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।
नागरिकता विधेयक प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा २०७५सालको साउनमा दर्ता भएर छलफलमा नै रहेको छ ।