काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित रहेको बताएका छन् । कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको लेखनाथ महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिइएको बताए ।
‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौँ’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधवार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’ उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले जानकारी गराए ।
पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हासिल नभएको उनको भनाई छ । गत वर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत वर्ष माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो वर्ष २५ भदौमा प्रतिस्थापन विधेयक ल्याई बजेट कार्यान्वयन नै ढिला हुँदा पनि गत वर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ ।’
अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराश जनक अवस्थामा नरहेको समेत बताए । अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने समेत उल्लेख गरे ।