काठमाडौँ । स्रोत नखुलेको करिब ३ लाख भारतीय रुपैयाँसहित थाइल्यान्डका दुई नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
भिस्तारा एयरलाइन्सको युके–१५६ कलसाइनको जहाजबाट भारतको राजधानी नयाँ दिल्ली जान लागेका ३२ वर्षीया वानविसा जन्तास्ना र ४१ वर्षीया वारापोर्न खुनसोम्बातलाई विमानस्थल प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको हो ।
प्रहरीले वानविसाको साथबाट १ लाख ७९ हजार ५ सय र वारापोर्नको साथबाट १ लाख १५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
वानविसाले खैरो रङ्गको लेडिज हृयाण्ड ब्यागभित्र नेपालमा प्रतिबन्धित २ हजार दरका ४ थान र ५ सय दरका ३ सय ४३ थान तथा वारापोर्नको साथबाट ५ सय दरका २ सय ३० थान भारतीय रुपैयाँ बरामद फेला परेको थियो ।
बरामद रकम कहाँबाट ल्याइएको भन्ने अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ । उनीहरु अन्तर्राष्ट्रिय उडान तर्फको लगेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्दा अवैध रकम फेला परेको थियो ।
दुवै आरोपितलाई थप अनुसन्धानका लागि बरामद रकमसहित राजश्व अनुसन्धान विभाग हरिहरभवनको जिम्मा लगाएको छ ।