जनकपुर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास निर्माणको काममा ढिलासुस्ती हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी छन् ।
आज (शुक्रबार) काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि कमजोरी रहेको बताएकी हुन् ।
विकास निर्माणको काम समयमै सम्पन्न गर्नका लागि योजना छनोट, स्रोतको सुनिश्चितता तथा निर्माण व्यवसायीको प्रभावकारिता र जबाफदेहिता अनिवार्य सर्त भएको उनले बताइन् ।
निर्माण व्यवसायीले गरेको कामको नियमन गर्नु सरकारको सम्बन्धित निकायको जिम्मेवारी भएको भन्दै मन्त्री झाँक्रीले कानुनमा भएका विभिन्न छिद्रहरूका कारण सरकारी संयन्त्रले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरिन् ।
उनले भनिन्‚ ‘अहिले खासगरी कुनै पनि आयोजनाका सन्दर्भमा समयमा सम्पन्न नहुने, ती आयोजनाहरू अलपत्र हुने, त्यसले दायित्व सिर्जना गर्ने, चालु रहेका छन् भने पनि त्यसले टाइम र कष्टको ओभरल्याप हुनेजस्ता विषयहरूलाई हामीले संवेदनशील ढङ्गले नै हेरेका छौँ ।’
यसो गर्दै गर्दा केही कुराहरू सम्बोधन भए पनि केही भने अझै ऐनमै संशोधन हुन आवश्यक भएकाले निर्माण व्यवसायको क्षेत्रमा हुने पुनर्निर्माण अथवा पूर्वाधारको विकास क्षेत्रमा हुने कामलाई ढिलो नहोस् भन्नका लागि आफूहरूले थुप्रै कामहरू गर्नुपर्ने भएको बताइन् ।
‘खासगरी नेपाल सरकारको साइडबाट योजना छनोटको कुरा, त्यसपछि नेपाल सरकारकै क्षेत्रबाट गरिने आयोजनालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न गरिने कामहरू, त्यसपछि त्यसको स्रोतको सुनिश्चितताका कुरा, निर्माण व्यवसायीहरूको प्रभावकारी र गुणस्तरीय काम र त्यसमाथिको नियमन अनिवार्य सर्त हुन्‚’ उनले भनिन् ।
मन्त्री झाँक्रीले कुनै पनि आयोजना समयमा सम्पन्न नभई अलपत्र भएको विषयमा सरकारले संवेदनशील रुपमा हेरेको बताइन् ।