बुटवल । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई सहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् ।
मन्त्री झाँक्रीले गाउँबाट सहरतिर बसोबास बढ्नु सहरीकरणका लागि चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् ।
लुम्बिनी प्रदेशको बुटवलमा सहरी नीतिको विषयमा आयोजित कार्यक्रममा उनले पहाडबाट तराईतिर, साना सहरबाट ठुला सहरतिर बसाइँसराईको क्रम बढ्नु चुनौती रहेको बताउँदै जनगणनाको प्रारम्भिक आँकडा हेर्ने हो भने बसाइँसराईको अवस्था एकदमै डरलाग्दो रहेको बताइन् ।
बसाइँसराई कम गर्न पनि सहरी नीति आवश्यक रहेकोमा जोड दिँदै यसका लागि नीतिगत रुपमा नै व्यवस्था गर्न लागिएको र सरकारका संयन्त्रले एक्ला एक्लै काम गर्छौँ भन्ने सोच बदल्न आवश्यक रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालको भौगोलिक विविधता अनुसारको सहरी नीति ल्याउनुपर्ने बताउँदै देशका सुविधा सम्पन्न क्षेत्रमा जनसङ्ख्या बढिरहेको भन्दै अनुकूलता अनुसार सरकारले नीति परिमार्जन गर्ने र नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए ।