काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि सङ्गठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ ।
बिहीवार (आज) बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।
जसमा प्रदेश १ मा उपाध्यक्ष प्रदेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गङ्गालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभागले जनाएको छ ।
अनुगमन टोलीले सबै स्थानीय तहको रिपोर्टिङ, पार्टी सङ्गठनको वास्तविक परिस्थिति र आवश्यक सूचना सङ्कलन गर्नेछ । त्यस्तै बैठकले ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऔँ’, भन्ने नारा समेत तय गरेको छ ।