दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र « प्रशासन
Logo १२ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र


४ चैत्र २०७८, शुक्रबार


दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ ।

विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ ।

पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडौँस्थित शङ्करमाली कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासीसमेत रहेका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले बताए ।

उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु ६ करोड ९१ लाख ८५ हजार निकासा गरिसकेको छ ।

कार्यालयका अनुसार हालसम्म १२ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको छ । समयमा काम सम्पन्न नभएपछि आगामी असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जनाएको छ ।

कामको प्रगति हेरेर बाँकी म्याद थपको निर्णय हुने कार्यालयले जानकारी दिएको छ ।

विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्र्याक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको पहलमा अलपत्र बनेको उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति भएको छ ।

निर्माण व्यवसायीसहित हालै बसेको बैठकले उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति गरेको हो ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेशकुमार घिमिरे, इन्जिनियर अमरेन्द्र यादव, धनमाया मिश्र लगायतको उपस्थितिमा भएको बैठकमा निर्माण व्यवसायी डिबी कार्कीले निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ठेक्का सम्झौतामा भएअनुसार जनशक्ति ल्याउने, आवश्यक उपकरण परिचालन गरी कार्य अगाडि बढाउने, अबको निर्माण सुरु गरेपछि कार्य प्रगतिका बारेमा निर्माण व्यवसायीले पूर्वाधार कार्यालयलाई मासिक रुपमा जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्नका लागि पूर्वाधार कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरबाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको गुरुङले बताए ।

‘निर्माण व्यवसायीले हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको बताएको छ, तर देखिने गरी केही काम भएको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीले काम अगाडि बढाउँछु भनेर प्रतिबद्धता जनाएकाले केही आशावादी भएका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस