काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको भन्दै आलोचना गरेका छन् ।
आज (आइतबार) नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले घर घर जाऊ काँग्रेस जिताऊ अभियान अन्तर गत बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले एमसीसीको सन्दर्भमा कम्युनिष्टहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका हुन् ।
कम्युनिस्ट पार्टीहरु भ्रमको खेती गर्न खप्पिस रहेको भन्दै उनले मतदाताका घर–घरमा पुगेर उनीहरुको वास्तविकता बताउनुपर्ने बताए ।
जुनसुकै मित्र राष्ट्रले मुलुक र जनताको हितमा दिने सहयोग लिन सकिने उनको भनाइ थियो ।
अहिले एमसीसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न समेत उनले आग्रह गरे । नेता सिंहले कम्युनिस्टका दोधारे कुराले नागरिकमा गलत सन्देश गएकाले त्यस्ता गलत हल्लाको विषयमा नागरिक सामु गएर बुझाउनु पर्ने बताएका हुन् ।
फरक प्रसङ्गमा बोल्दै चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भए पनि उम्मेदवार हुन टिकट पाउन पार्टीको विधानअनुसार सबैले पालना गर्नु पर्ने उनको भनाई रहेको छ ।