दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्य तथ्य बुझाएर काँग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने काँग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काँग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे । एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘काँग्रेसले एमसीसी पास गर्यो, त्यही कारण काँग्रेसलाई भोट देऊ भनेर जनतामाझ जानुपर्छ ।’
एमसीसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो ।
नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीकाे विरोध गर्नेहरू राष्ट्रघाती भएको आरोप लगाए । ‘देश विकास गर्ने पार्टी काँग्रेस हो, देशलाई काँग्रेसले मात्रै बलियो बनाउँछ,’ पौडेलले भने, ‘देशको भविष्य सोचेर काँग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।’
काँग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विश्वेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।