दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले स्थानीय तहको चुनावमा एमाले एक्लै लड्ने बताएका छन् ।
प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा एमालेले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने बताएका हुन् ।
राप्रपा, सिके राउतका दलसँगको तालमेलको सम्भावना के छ भन्ने पत्रकारको जिज्ञासामा उनले एमालेले पार्टीगत तालमेलको पक्षमा नरहेको बताए ।
उनले सत्तारुढ गठबन्धनका दलले एमालेले राजवादी दलसँग तालमेल हुँदेछ भनेर भ्रम फैलाएको आरोप लगाए ।
‘जो एक्लै उठ्ने आट गर्दैन, उनीहरुले यस किसिमका भ्रम फैलाएका छन्’ उनले भने, ‘एमाले एक्लै उठ्न सक्छ, यसमा कुनै समस्या छैन ।’
उनले एमालेले नेताभन्दा पनि विभिन्न दलमा कार्यकर्ताहरुलाई जोड्दै बलियो शक्ति निर्माण गर्दै अगाडी बढ्ने बताए । महासचिव पोख्रेलले अहिलेको पाँच दलीय गठबन्धन बामपन्थी आन्दोलन र लोकतन्त्र मान्यताको विरुद्धमा भएको टिप्पणी समेत गरे । उनले काँग्रेससँगको तालमेल जनताले दिएको जनादेशको विपरीत भएको बताए ।
त्यस्तै पोख्रेलले प्रचण्ड र माधव नेपालसँग बामएकताको सम्भावना नरहेको तर माओवादी र एकीकृत समाजवादीका कार्यकर्तालाई एकताबद्ध गर्ने पक्षमा भने एमाले रहेको बताए । ‘प्रचण्ड र माधवरहित बामएकताको पक्षमा एमाले छ’ उनले भने, ‘माधव नेपालका कार्यकर्तालाई गोलवद्ध हुँदै ठुलो शक्ति निर्माण गर्न आह्वान पनि गरिरहेका छौँ ।’