त्रिशूली । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सत्तारूढ दलहरूबिच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् ।
नुवाकोटको सूर्य गढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले तालमेलले राजनीतिक दलबिच सौहार्दपूर्ण वातावरण तयार गरेर काँग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गरे ।
‘दलबिचको एकता अहिलेको आवश्यकता हो’, उनले भने, ‘अवस्था अप्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ । यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरूबिच गठबन्धन र तालमेल गर्न लागिएको हो ।’
स्थानीय तहको निर्वाचनमा दलबिच हुने तालमेलले पार्टीबाट उम्मेदवार सङ्ख्या कम हुँदा पदको भाग नआउला भनेर पदीय आकाङ्क्षीलाई पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिनुपर्ने उनको भनाइ छ ।
पार्टीले उठाएका उम्मेदवार आफ्नै पार्टीको वा अर्को पार्टीको भए पनि विश्वासघात नगरी समर्थन गरेको उम्मेदवारलाई विजय गराउनका लागि परिचालन हुन उनले निर्देशन दिए ।
देशमा पछिल्लो समयमा बढिरहेको इन्धन र खाद्य सामग्रीको मूल्य वृद्धि नेपालको पहुँचबाहिर अर्थात् अन्तर्राष्ट्रिय प्रभावका कारण भएकाले यसलाई रोक्न स्वदेशी सामग्रीको उपभोग बढाउन उनले सुझाव दिए ।