पोखरा । गण्डकी प्रदेश सरकारले आचारसंहिता लागू हुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ ।
गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचन पछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने शुक्रबार नै नियुक्त गरेको छ।
अघिल्लो सरकारले १६ वैशाखमा ३ वर्षे कार्यकालका लागि सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई नियुक्त गरेको थियो । गण्डकी सरकारले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार उनीहरूलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गरेको छ । शनिवारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै छ ।
आचारसंहिता लागू हुनु अगावै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भागबन्डाका आधारमा अस्पतालमा पदाधिकारी नियुक्त गरेको छ । भण्डारी नेकपा माओवादी केन्द्रको सिफारिसमा अस्पतालको अध्यक्षमा नियुक्त भएको माओवादीकै एक मन्त्रीले जानकारी दिए । उनी पोखरा महानगरपालिका–२३ निवासी हुन् । उनको नियुक्तीबारे गण्डकी सरकारले अधिकारीक सार्वजनिक भने गरिसकेको छैन ।
स्वास्थ्य मन्त्री मधु अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिका अन्य सदस्यहरू नेपाली काँग्रेस र एकीकृत समाजवादीबाट छन् ।
जनस्वास्थ्यको क्षेत्रमा काम गरेका भण्डारी पोखरा–२० माओवादी कमिटीका सल्लाहकार हुन् भने उनले माओवादी निकट बुद्धिजीवी सङ्गठनमा रहेर पनि काम गरेका थिए ।
अघिल्लो सरकारले नियुक्त गरेका जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै सरकारले नयाँ नियुक्त गरेको हो । गण्डकी प्रदेशका सङ्क्रामकसहित सबै जिल्ला अस्पतालमा विभिन्न राजनीतिक दलले भागबन्डा गरेर अध्यक्ष बाँडेका थिए ।