कर्णाली । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा हिजो (शुक्रबार) भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो ।
आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छ । अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यलगायतले जग्गाधनी पुर्जा वितरण गरेका थिए।
सुर्खेतमा २०३९ सालयता भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौँपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैङ्किङलगायत अन्य सेवा उपभोग गर्नबाट उनीहरू वञ्चित हुँदै आएका थिए ।
अध्यक्ष निरौलाले सरकारले भूमिहीन, सुकुम्वासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए ।
जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलो पटक भूमिहीनलाई पुर्जा वितरण गर्न आफूहरु सफल भएको धारणा व्यक्त गरे ।
उप–प्रमुख आचार्यले भनिन्, ‘नागरिकको वर्षौँदेखिको ठुलो समस्या समाधान भएको छ । अब नगरभित्रका बाँकी भूमिहीन सुकुम्वासीलाई जग्गा दिनाका साथै पुर्जासमेत प्रदान गर्न पहल गर्छौँ ।’