काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा हजारौँको सहभागिता जुटेको छ ।
रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्ग स्थित तीन धारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पु¥याइएको छ । रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भीड लागेको छ ।
सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसी देवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्र बहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । अष्टमीका दिन आज कुमारीलाई पनि तीन धारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका नीलकाजी शाक्यले जानकारी दिए ।
असनमा आज राति १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
तीन धारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ ।