देशमा यतिखेर स्थानीय तहको चुनावी सद्गर्मी बढेको छ । सामाजिक सञ्जालतथा सञ्चार माध्यममा गायक देखी नायक सम्म, लेखक देखी राष्ट्रसेवक सम्ममात्र नभई पुर्वमन्त्री प्रधानमन्त्रीसम्मको उम्मेदवारीको चर्चा चलेको छ । चोक चोकमा अबको मेयरउपमेयर को होला अध्यक्ष उपाध्यक्ष अनि वडा अध्यक्षमा कसको उम्मेदवारी होला कसले जित्ला जस्ता चर्चा चल्न थालेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि तोकेको मिति नजिकिँदै जाँदा दलहरू उम्मेदवार छनौटको दबाबमा रहेको देखिन्छ ।
देशमा सङ्घीयताको कार्यान्वयन स्वरूप २०७४ मा पहिलो पटक स्थानीय तहको निर्वाचन भयो । पहिलो निर्वाचनमा कतिपयले अन्योलताकै बिच निर्वाचनमा उम्मेदवारी दिएका थिए। धेरैलाई स्थानीय तहको अधिकार र जिम्मेवारीको विषयमा त्यति ज्ञान थिएन । साबिकको स्थानीय निकाय नै हो कि भन्ने भ्रम पनि थियो । केही राजनीतिज्ञहरू गाउँपालिकाको अध्यक्ष नि के उठ्ने भन्ने जस्ता अभिव्यक्ति पनि यदाकदा सुनिएका थिए । तर स्थानीय तहको पाँच वर्षको अभ्यासबाट स्थानीय तह अधिकार सम्पन्न मात्र होइन विकासको जग र राजनीतिक पृष्ठभूमि निर्माणको आधार पनि रहेछन् भन्ने कुरा छलङग भएको छ । अहिले मलाइ सङ्घ प्रदेश पर्दैन नगरपालिका/गाउँपालिकाको मेयर/अध्यक्ष भए पुग्छ भन्ने पङ्क्ति लामो भेटिन्छ । वास्तवमा जनतासँग प्रत्यक्ष छोइएर जनतासँगै उठबस गरी जनताको सेवा गर्ने थलो बनेको छ स्थानीय तह । यसको सफलता र प्रभावकारिताले जनताले समग्र शासन प्रणालीप्रति आफ्नो धारणा बनाउँछन् । स्थानीय तहमा आफ्नो पकड नबनाएसम्म केन्द्रीय राजनीति पनि बलियो हुँदैन भन्ने कुरामा ठूला साना राजनीतिक दलले राम्रै हेक्का राख्न थालेका छन् ।
स्थानीय तहको जनप्रतिनिधि हुन कम चुनौतीपूर्ण भने छैन । जनप्रतिनिधि हुन वा जिम्मेवारी पाउन जति गाह्रो छ त्यो भन्दा दशौँ गुणा बढी पाएको जिम्मेवारी पूरा गर्न छ ।विकास, समृद्धि र सुशासनको प्रत्याभूति त मुख्य प्राथमिकताको विषय नै भयो जुन कुनै पनि हालतमा पूरा गर्नुपर्छ । त्यसका साथसाथै जनताको दैलोको सरकारको प्रतिनिधि हुनुले स्थानीय जनप्रतिनिधिले जनताको हरेक दुख सुखमा साथ दिनै पर्छ । कोरो कुर्ने देखी कुटो कोदालो समेत सँगै गर्नुपर्ने हुनसक्छ । जनप्रतिनिधिले गर्ने स सानो काम र व्यवहारको निगरानी जनताले प्रत्यक्ष रूपमा गरिरहेका हुन्छन् । गल्ती कमजोरी जनताले तुरुन्तै पहिल्याउन सक्छन् । फेरी तपाइले राम्रो गर्दा तुरुन्तै स्याबासी पाउने मौका पनि छ । पाँच वर्षको लागि आफू अनि परिवारको बारेमा सोच्ने फुर्सद कमै हुन्छ । छोटो समयमा सीमित स्रोत साधनको कुशल व्यवस्थापन गरी जनताका असङ्ख्य अपेक्षाहरुपूरा गर्नुपर्ने हुन्छ । त्यसको लागि कर्मशील त हुनै पर्छ कुशल व्यवस्थापक पनि । यसै सन्दर्भमा प्रस्तुत लेखमा स्थानीय तहको नेतृत्व छनौटको लागि ध्यान दिनुपर्ने विषयलाई सुझावका रुपमा राख्ने जमर्को गरिएको छ ।
राजनीतिक दलले साँच्चिकै विकास सँगसँगै आफ्नो दललाई पनि मजबुत बनाउने हो भने स्थानीय तहको जनप्रतिनिधिको रूपमा उम्मेदवार छनौट गर्दा नै विचार पुर्याउनुपर्ने देखिन्छ । एक जनामात्र वडा अध्यक्ष खराब हुँदा सारा वडावासीहरूमा नेता, राजनीतिक दल, राजनीति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा पैदा गर्छ । अहिले राजनीतिक दलले यो कुरा राम्रो सँग बुझेका पनि छन् जुन कार्यान्वयन गर्नुपर्ने देखिन्छ । पार्टीमा हिँडेका, लागेका, योगदान गरेकालाई पक्कै पनि कदर गर्नु पर्छ । भूमिका पनि दिनुपर्छ । तर त्यो भन्दा बेँसी उम्मेदवारको क्षमता र इमानदारिता हेरिनुपर्छ । क्षमता भएको खराब मान्छे वा क्षमता नै नभएको असल मान्छे दुवै थरी नेतृत्वमा उपयुक्त हुँदैन । तसर्थ क्षमता इमान्दारीता र इच्छाशक्तिको उचित संयोजन नेतृत्व छनौटको आधार बनाइनुपर्छ । पैसा र ठुला नेताहरूसँगको सामीप्यताका आधारमा किमार्थ टिकट बाडिनुहुदैन । त्यसले पार्टीभित्र मात्र होइन जनमानसमा समेत दीर्घकालीन नकारात्मक असर पर्छ ।
जनतासँग भिजेको, भिज्न सक्ने, दूरदर्शिता भएको, कुशल व्यवस्थापन गर्न सक्ने, समस्या समाधान गर्न सक्ने र निर्णय क्षमता राम्रो भएको व्यक्ति उम्मेदवारको रूपमा राजनीतिक दलले छनौट गर्नुपर्छ । यसका साथै स्थानीय तहको स्पष्ट लक्ष्य निर्धारण गर्न सक्ने, आत्मविश्वासी, सदाचारी, नैतिकवान्,नवप्रर्वतनशील र उदाहरणीय व्यक्ति उमेद्बारको रूपमा छनौट गर्न कन्जुस्याइँ गरिनु हुँदैन ।
धेरै पुर्वराष्ट्रसेवक समेत उम्मेदवारको लाइनमा हुनुहुन्छ । उहाँहरूको योग्यता, विज्ञता र अनुभवको प्रयोग अवश्य गर्नुपर्छ तर अवकाश हुदाँ नहुदै उम्मेदवार बन्ने बनाउने प्रचलन पक्कै पनि राम्रो होइन । यसले पेसामा रहुन्जेल पेसागत व्यावसायिकता भन्दा राजनीतिक सौदा वाजीको लागि प्रेरित गर्दछ । राष्ट्रसेवकले सत्ता र शक्तिमा आफ्नो विम्ब देखिरहेको हुन्छ । तसर्थ अवकाश पछिको निश्चित अवधि पछि मात्र उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिनु पर्छ ।
जनप्रतिनिधि हुन इच्छुक तपाई के साँच्चै जनप्रतिनिधि हुन लायक हो?तपाइको गाउँ/नगरलाई सुन्दर र समृद्ध बनाउन तपाइसँग कस्तो योजना छ ? तपाइको दावेदारी कति स्वाभाविक छ ? तपाईँको जित्ने आधार के हो ? जनताका समस्या समाधानको लागि क्षमता, कुशलता अनि त्यो खालको प्रतिबद्धता र समय छ कि छैन ? तपाइले जनप्रतिनिधिको रूपमा काम गर्दै गर्दा तपाइको दलको साख थप उचाइमा पुर्याउन सक्नुहुन्छ कि हुँदैन ? सो मुताबिक काम गर्ने क्षमता र तत्परता छ कि छैन ? तपाईँलाई जनताले कत्तिको पत्याउलान्? यी तमाम प्रश्नहरू आफ्नै अन्तर आत्मलाई सोध्नुहोस् र आफैले आफूलाई स्वमुल्याङकन गर्नुहोस् । यदि साँच्चै जनप्रतिनिधि भएर काम गर्न सक्छु भन्ने लाग्छ भने उम्मेदवारी दिनुहोस् अन्यथा देशलाई अझै पछि धकेल्नेकामको साझेदार नहुनुहोस् ।
तपाई जनप्रतिनिधिको रूपमा मालिक होइन सेवक भएर काम गर्न सक्छु भन्ने आत्मविश्वास बोकेर मात्र उम्मेदवारी दिनु पर्छ ।पदमा पुगेपछि गरिहालिन्छ नि भन्ने सोचबाट मुक्त हुनुहोस् । स्पष्ट भिजन र सो बमोजिमको काम गर्ने क्षमता र इमानदारिता भए मात्र जनतामाझ जानु उपयुक्त हुन्छ । पैसा खर्च गरेर टिकट किन्नु र चुनाव जित्नु तपाईँको हितमा पटक्कै छैन । अघिल्लो चुनावमा हौसिएर गरेको खर्च तिर्न नसकेर कयौँ उम्मेदवारको घरबास उठेका प्रशस्तै उदाहरण छन् । अहिले खर्च गरौँ चुनाव जितेपछि उठाई हालिन्छ नि भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट भ्रममुक्त हुनुहोला । वास्तवमानै तपाई जनप्रिय हुनुहुन्छ र तपाईँमाथि जनताको विश्वास छ भने तपाईँले चुनाव लड्दिन भने पनि जनदबाबबाटै तपाई उम्मेदवार बन्नुहुन्छ र चुनाव पनि जित्नुहुन्छ । जबरजस्ती गरेको कुनै पनि कर्मको फल मिठो नहुन पनि सक्छ ।
मतदाताले आफ्नो अमूल्य मत प्रदान गरी साँच्चै विकास प्रेमी जनप्रतिनिधि छान्ने बेला आएको छ । अहिले छानेका प्रतिनिधिले ५ वर्ष काम गर्ने मात्र होइन त्यसको प्रभावपचासौ वर्षसम्म परिरहेको हुन्छ । सधैँ नेता गतिला भएनन् केही गरेनन् भन्ने अभिव्यक्ति दिँदै नैराश्यता देखाएर बस्नु मात्र भन्दा अब काम गर्ने विकास प्रेमी, जनताको सेवा गर्ने, क्षमतावान् र इमानदार उम्मेदवारलाई छनौट गर्नुहोस् । स्थानीय स्तरकै व्यक्ती उम्मेदवार हुने हुनाले उम्मेदबारका गुण र दोष सुक्ष्मरुपमा केलाउनुहोस् । आफूले आस्था राख्ने पार्टी र चिन्हमा चुनाव लडेको उम्मेदवार राम्रो योग्य लाग्छ भने उसैलाई मतदान गर्नुहोस् अन्यथा पार्टी र चिन्हको मात्र भ्रममा परिरहनु जरुरी छैन। पार्टी मात्र हेरेर मतदान गर्दा असल मान्छे नेतृत्वमा नपुग्न पनि सक्छ । राम्रो सक्षम मान्छे पछि परिरहेको पनि हुनसक्छ । फलस्वरूप हाम्रो समृद्धिको चाहाना अधुरै रहन सक्छ । त्यसैले पार्टी र चिन्हभन्दा माथि उठेर क्षमता हेर्ने बेला आएको छ ।
राजनीतिक दललाइ मतदान गर्न त सङ्घीय तथा प्रादेशिक चुनावमा समानुपातिक निर्वाचन प्रणाली छदै छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा हाम्रालाई होइन राम्रालाई मतदान गर्नु आवश्यक देखिन्छ । जसको लागि गोप्य मतदानको व्यवस्था गरिएको छ । झन् स्थानीय तहको नेतृत्व त प्रत्यक्ष निर्वाचित कार्यकारी पद हो । संविधानमा शक्ति सन्तुलनको लागि उसको बहिर्गमनको कुनै व्यवस्था गरिएको छैन । तसर्थ,राम्रो मान्छे छनौट नभए ५ वर्षको लागि कुनै विकल्प छैन । अर्को दलको उमेद्बार राम्रो छ भोट त दिन हुन्थ्यो तर सिद्धान्त पनि मिल्दैन पार्टीमा पनि घात हुन्छ भन्ने पनि लाग्न सक्छ । तर आफ्नै पार्टीको भए पनि बेकामे उम्मेदवार छनौट गर्नू झन् ठुलो राष्ट्र घात हो । पार्टी घात रोज्ने कि राष्ट्र घात जिम्मा तपाईँको ।
अन्त्यमा, सङ्घीयताको मुख्य मर्म स्थानीय तहबाट नै महसुस हुन्छ । तसर्थ, आफ्नो अधिकतम विवेकको प्रयोग गरी उत्तम नेतृत्व छनौट अहिलेको आवश्यकता हो ।