दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि दाङमा चार लाख नौ हजार ९०२ मतदाता कायम भएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्लाभर दुई लाख ८०१ पुरुष, दुई लाख नौ हजार ९९ महिला र दुई जना अन्य गरी कूल चार लाख नौ हजार ९०२ मतदाता रहेको छ । निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले तयारीलाई तीव्र पारेको छ ।
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदान स्थलको अवलोकन तथा वर्गीकरण गरिसकेको छ । यस पटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । उनका अनुसार तीमध्ये १३६ मतदान स्थल संवेदनशील, पाँच अति संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्य रूपमा वर्गीकरण गरिएको छ ।
निर्वाचनलाई दृष्टिगत गरी प्रदेशस्तरीय तालिम तथा छलफल भइसकेको र अब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएपछि निर्वाचनमा परिचालन हुने कर्मचारी, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ ।
मतदानलाई निष्पक्ष भयरहित बनाउन सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । त्यस्तै केही दिनमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीहरूसँग आचारसंहिताका विषयमा छलफल गरिने कार्यालयले जनाएको छ ।
हालसम्म निर्वाचनमा आवश्यक पर्ने मतपेटिका तयारी अवस्थामा राखिसकेको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्राविधिकलाई तालिम दिइसकेको छ ।
जिल्लामा आगामी वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलेपछि थप तयारीलाई तीव्र पारिने निर्वाचन अधिकारी भण्डारीको भनाइ छ ।
यता दलहरुलाई उम्मेदवारी चयनमा भने सकस परेको छ । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा पाँच दलीय गठबन्धनले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।