विराटनगर । नेपाली काँग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ ।
काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए । उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए । करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रस्ट भएको भन्दै उनले भने, ‘म भ्रष्टाचार गर्दिन । अरूलाई पनि गर्न दिन्न ।’
कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए ।
छलफल कार्यक्रममा काँग्रेस नेता डा शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए ।