काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा(एमाले)का सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठ र पूर्वमन्त्री एमाले केन्द्रीय सदस्य जुली महतोलाई कारबाही गर्न सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् ।
महासेठ र महतो श्रीमान् श्रीमती हुने भने उनीहरू प्रतिनिधिसभा सदस्य हुन् । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको थियो ।
उक्त आरोप आधारहीन भएको र त्यस्तो आरोप लगाएर महासेठ र उनकी श्रीमती महतोले आफूलाई बदनाम गर्न खोजेको अन्सारीको दाबी छ ।
जनकपुर गएको बेला आफूलाई नभेटेको लगायतका कारणले गर्दा महासेठ दम्पती आफूसँग रिसाएको अन्सारीको भनाइ छ ।
‘आज (बिहीबार) जुन घटना घट्यो, जुन व्यक्तिहरू आउनुभएको थियो, दुःखका साथ भन्नुपर्छ ती नेकपा (एमाले)का नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा टिम आएको थियो । पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ हुन् । उहाँहरूले नाराबाजी गर र बदनाम गर भनेर पठाउनुभएको थियो, उनले भने, प्रमाणबिना चरित्र हत्या गर्ने प्रयास भएको छ । सरकार र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अपिल गर्न चाहन्छु महासेठ र महतोलाई कारबाही गरियोस् ।’
आफ्नो कामले जनकपुर गएको बेला नभेटेको रिसमा महासेठ दम्पतीले बदनाम गर्न खोजेको अन्सारीको भनाइ थियो ।
‘रघुवीर महासेठ अरुलाई दासको नजरले हेर्नुहुन्छ । हिजो उहाँले फोन गरेर जनकपुरमा आउनुभएको बेला कुनै खबर गर्नुहुन्न भन्नुभएको थियो । मैले आफ्नो कामले आएको हो तपाईँलाई खबर गर्न आवश्यक छैन भन्ने जवाफ दिए । आज उहाँको एक जनाले पनि फोन गरेर असन्तुष्ट हुनुहुन्छ भन्नुभएको थियो । मैले उहाँको गुलाम होइन, दास होइन भनेर जवाफ दिएको थिए,’ उनले भने ।
आफ्नो बदनाम गर्न नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको र उनलाई पक्राउ गरिएको पनि अन्सारीले बताए ।
भण्डारीले पनि आफूलाई महतो र महासेठले पठाएको भन्ने कुरा प्रहरी समक्ष स्वीकार गरेको अन्सारीको दाबी थियो ।जुली र रघुवीरमाथि कारबाही हुनुपर्ने अन्सारीको माग थियो । उनले कारबाही नभएमा आफू चुप लागेर नबस्ने बताए ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवारको पक्षमा मत प्रभावित पार्न अन्सारीले पैसा बाँडेको आरोप लागेको थियो । जनकपुरबाट काठमाडौँ आए लगत्तै अन्सारीले पत्रकार सम्मेलन गरेका हुन् ।
सम्बन्धित समाचार : मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप
सम्बन्धित समाचार : मेरो चरित्रहत्या भयो : अन्सारी