काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ६ स्थानबाट मतगणना सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानसम्म पाँच स्थानमा मात्रै मतगणना भइरहेकोमा आज (आइतबार) दिउँसोदेखि ६ स्थानबाट मतगणना सुरु गरिएको हो ।
नयाँ ठाउँबाट वडा नम्बर ३१ को मतगणना थालिएको छ । यसअघि वडा नम्बर १, २, ३, ४ र ३२ वडाको मतगणना भइरहेको थियो ।
‘६ वटा वडाको मतगणना भइरहेको छ । तीमध्ये केही वडाको अन्तिम परिणाम आउने अवस्था छ, हामी केही बेरमा सार्वजनिक गर्छौँ,’ सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी दिए ।
महानगरपालिकाको मेयरमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
साहले २८ सय २० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १५ सय ७ मतसहित पछ्याइरहेकी छिन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४ सय ४९ मतसहित तेस्रो स्थानमा छन् ।