रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बक्सा पहिले खोलिएको र सिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ ।
च बुथको दोस्रो बक्साको ४१३५३८ को बक्सा लक तोडिएको अवस्थामा भेटिएको र बक्सा सिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए ।
१६ हजार मतदाता रहेको यो वडामा साढे १० हजार मत खसेको छ । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल –११ को मतगणना अहिले रोकिएको छ ।
मतपेटिका खोल्ने क्रममा सिल चुँडिएको भेटिएपछि मतगणना रोकिएको र सिल चुँडिएको भए पनि सिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।
‘सिल चुँडिँदैमा मतपत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरुलाई मिलेर आउन आग्रह गरेको निर्वाचन अधिकृत पौडेलले बताए । ‘मत पेटिका खोल्ने क्रममा सिल चुँडिएको भेटिएपछि अहिले मतगणना रोकिएको छ । सिल चुँडिँदैमा मतपत्रमा कुनै असर हुँदैन । चुँडिएको सिल कपडामा भेटिएको छ’, अधिकृत पौडेलले भने ।
वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।