लमजुङ । जिल्लाको सुन्दर बजार नगरपालिका र मध्य नेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस विजयी भएको छ ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दर बजारमा काँग्रेसका कृष्णप्रसाद कोइराला र मध्य नेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका हुन् ।
सुन्दर बजारमा नवनिर्वाचित कोइरालाले ६ हजार ६४१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा एमालेकी भवानी केसीले पाँच हजार १८ मत प्राप्त गर्दै विजयी भइन भने उनको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामबाबु अधिकारीले दुई हजार २०४ मत प्राप्त गरे ।
त्यस्तै, मध्य नेपालमा काँग्रेसका पाण्डेले ३३७ मतले एमालेका राजकुमार श्रेष्ठलाई पछि पार्दै विजयी भए । पाण्डेले ६ हजार ५५१ मत प्राप्त गरे । भने, उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलले बताए । पाण्डे यसअघिका प्रमुखसमेत थिए । प्रमुखमा पराजित श्रेष्ठ यसअघिका उपप्रमुख छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी सीता गुरुङले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका उपेन्द्र अधिकारीलाई एक हजार ३४२ मत अन्तरले हराउँदै विजयी भएका छन् । उनले ६ हजार ४१६ प्राप्त गरे भने, उनको निकटतम प्रतिद्वन्द्वी उपेन्द्रले पाँच हजार ७४ मत प्राप्त गरे ।
सुन्दर बजारमा २० हजार ७९६ मतदाता रहेकोमा १४ हजार ५२ मत खसेको थियो भने, मध्य नेपालमा २० हजार ९२ कूल मतदातामध्ये १३ हजार ७७१ मत खसेको थियो ।