बनेपा । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलान्चोक जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले) तेस्रो भएको छ ।
काँग्रेस सात, नेकपा (माओवादी केन्द्र) चार, नेकपा एमाले एक र नेकपा (एकीकृत समाजवादी) एक पालिकास्तरको प्रमुख तथा अध्यक्षमा विजयी भएको हो ।
काँग्रेसले जिल्लाको बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकामा प्रमुख पदमा विजयी हासिल गरेको छ भने रोशी, तेमाल र बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको छ ।
यसै गरी काँग्रेस धुलिखेल र मण्डनदेउपुरमा उपप्रमुख तथा महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकामा उपाध्यक्ष पदमा विजयी भएको छ ।
नेकपा (माओवादी केन्द्र) खानीखोला, चौरीदेउराली, महाभारत र भुम्लु गाउँपालिकाको अध्यक्ष पदमा र र उपप्रमुख पदमा नमोबुद्ध नगरपालिकामा विजयी हासिल गरेको छ ।
एमाले प्रमुख पदमा धुलिखेल र उपप्रमुख पदमा बनेपा, पनौती र पाँचखाल नगरपालिकामा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी)ले भने मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा विजयी हासिल गरेको छ ।
वडागत हिसाबमा भने पहिलो पार्टी काँग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र र चौथोमा एकीकृत समाजवादी रहेको छ ।
जिल्लाको १३५ वटा वडामध्ये काँग्रेसले जिल्लाका ६० वटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ४३ वटा वडा र नेकपा (माओवादी केन्द्र)ले २५ वटा वडामा विजयी हासिल गरेको छ ।
समाजवादी चार वटा वडा, स्वतन्त्र दुई वटा वडा र राष्ट्रिय प्रजातन्त्र पार्टी एक वटा वडामा विजयी भएको छ ।