काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् ।
बजेट छलफलमा उठेका प्रश्नको आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले १५ औँ आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपाली औसत आयु ६९.७ वर्ष रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए । यसभन्दा अघि ७० वर्षमा वृद्ध भत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष बनाइएको छ ।
‘विपन्न नागरिकहरूको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ । नेपालको १५ औँ आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औसत आयु ६९.७ वर्ष रहेछ । यो योजना आयोगले १५ औँ योजनामा निकालेको तथ्याङ्क हो । त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ । उसको आयु कम नै हुने गरेको छ । त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ ।’
मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरुसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताए ।
अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको उनको दाबी थियो । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको उनले बताए ।