तनहुँ । गत माघ महिनादेखि युरिया मल अभाव हुँदा तनहुँका किसान मारमा परेका छन् ।
मकै र चैते धान बालीमा मल प्रयोग गर्न नपाउँदा उत्पादनमा कमी आउने किसानको चिन्ता छ । दैनिक किसान आउने गरे पनि खाली हात फर्किनुपर्ने बाध्यता रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीका प्रमुख दिनेश शर्माले जानकारी दिए ।
करिब पाँच महिनादेखि युरिया मल आयत नहुँदा किसानले चर्को समस्या भोग्नुपरेको छ । उनले भने, ‘कार्यालयमा पोटास मल करिब ६० टन स्टक रहे पनि डिएपी मल यसअघि नै किसानलाई वितरण गरिसकिएको छ ।‘ सरकारले ग्लोबल टेण्डरमार्फत विश्वका जुनसुकै मुलुकबाट खरिद गरी ल्याउने प्रक्रियामा रहेकाले असार पहिलो साताभित्र युरिया मल आउने आश्वासन मन्त्रालयबाट पाइएको उनले बताए ।
‘खरिद गर्ने हाम्रो अधिकार हुँदैन’, उनले भने, ‘मन्त्रालयबाट खरिद गरी कृषि सामग्री कम्पनीलाई दिएको मल वीरगञ्ज कार्यालयबाट विभिन्न जिल्लालाई पठाएको मल प्राप्त गरी किसानलाई वितरण गर्ने गरिएको छ ।’ गत साउनदेखि माघसम्म ६०० टन युरिया मल किसानलाई वितरण गरिए पनि त्यसपछि मल आयात नहुँदा किसानले समस्या भोग्नुपरेको उनले जानकारी दिए ।
युरिया मल अभाव भएको बजारमा विभिन्न माध्यमबाट आएको मल बिक्री वितरण गर्न व्यास नगरपालिकाले अनुमति दिएको छ । अनुमतिपत्र लिएका र गुणस्तर खाद्य तत्व भएको मल बिक्री गर्न निर्णय नै गरी बिक्रीका लागि अनुमति दिइएको व्यास नगरपालिका कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले जानकारी दिए । उनका अनुसार युरिया मल प्रतिकिलो ५५ मा बिक्री गर्न अनुमति दिइएको छ । दिनैभरि मल छैन भन्दै किसानलाई फकाउनुपरेको मलखाद व्यवसायी सङ्घ तनहुँका अध्यक्ष एवं पशुपति बीज भण्डार दमौलीका सञ्चालक गुञ्जमान कोइरालाले बताए ।