नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह


५ असार २०७९, आइतबार


भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरूले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन आग्रह गरेका छन् ।

नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज आयोजित नागरिक समाजसँगको अन्तर्क्रियामा विज्ञहरुले दीर्घकालीन योजना एवं भू उपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको विकासमा सरकारले दीर्घकालीन सोच नराख्दा राजधानी उपत्यकाका काठ क्षेत्र अहिले पनि विकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने औँल्याए ।

उनले प्रदूषण फैलाउने इँटा उद्योगलाई तत्काल हटाउनुपर्ने, यहाँका प्राकृतिक बालुवा खानी, माटो खानी र जमिन मुनिको पानीको दोहनलाई तत्काल रोक्नुपर्ने, गैर कानुनी जग्गा प्लटिङ रोकेर कृषियोग्य जमिनको संरक्षण गर्नुपर्ने, नगरपालिकाले दीर्घकालीन योजना र भू उपयोग रणनीति तत्काल ल्याउनुपर्ने बताए ।

संसद् सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अवैध बालुवा माटो बिक्री गरिएको भन्दै आपत्ति जनाए ।

उनले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएकाले सार्वजनिक यातायातका साधनको सहज पहुँच अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औँल्याए ।

नेपाल सरकारका सहसचिव ध्रुव गैँडाले दिगो विकास र सुशासनमा केन्द्रित भएर नगरपालिका अगाडि जानुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकारद्वय विकास थापा र सुन्दर खनालले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनुपर्ने, सबै सूचना वेबसाइटमा अपडेट हुनुपर्ने तथा जनताको आवश्यकताका आधारमा योजना बनाउनुपर्ने बताए ।

विज्ञहरु नेत्रप्रसाद न्यौपाने, पूरण फुयाँललगायतले सामुदायिक विद्यालयको शिक्षा अझै पनि ४० वर्ष अगाडिकै पद्धतिमा चलिरहेको भन्दै नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ समय र प्रविधिअनुरुप शिक्षालाई ढाल्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

गीतकार तथा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनकर्मी, स्वास्थ्य विज्ञ, प्राविधिक, कानुन, जलविद्युत् क्षेत्रका विज्ञहरुले नगरपालिकाको भ्रष्टाचार रोक्नुपर्ने, विरोध गर्नेको आवाज सुन्नुपर्ने, विकासलाई आजका लागि नभई ५० वर्ष पछाडिसम्म सोचेर योजना बनाउनुपर्नेलगायतका सुझाव दिए ।

कार्यक्रममा नगर प्रमुख खत्रीले ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्य रहेको यस नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले कार्यक्रमबाट आएका सुझावलाई आत्मासात गर्ने जनाउँदै विभेदरहित ढङ्गले नगरको विकासमा आफ्नो कार्यकाल खर्चिने र नगरवासीको आवश्यकतालाई पहिचान गरी विकासका आयोजनालाई अगाडि बढाउने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९/८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उद्देश्यले विभिन्न कोणबाट छलफल र सुझाव सङ्कलन भइरहेको बताए ।

त्यस अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाँइले नगरपालिकाले विगतमा थालनी गरेका कामलाई निरन्तरता दिइने र अधूरा काम पुरा गरिने जानकारी गराए ।

उनले आगामी आवका लागि नगरपालिकाले आन्तरिकतर्फ करिब रु ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस