वीरेन्द्रनगर । सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जिप दुर्घटना भएको छ ।
वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो ।
बा १ झ ८७८४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल डाँगीले जानकारी दिए ।
दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रुकुम पश्चिम चौरजहारी नगरपालिका घर भई जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इन्जिनियर धर्म बुढाथोकीको दुर्घटनामा परी मृत्यु भएको छ ।
प्रहरी नायब निरीक्षक डाँगीका अनुसार दुर्घटनामा इन्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन् ।
उनीहरूको अवस्था सामान्य रहेको छ । घाइतेको कर्णाली प्रदेश अस्पताल काला गाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।