काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि हुने नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित भएको छ।
नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको हो। पानी परेर मैदान भिजेपछि अहिले टस समेत हुन सकेको छैन। यस अघि बहराइनसँग भएको खेलमा पनि वर्षा बाधक हुँदा खेल सात ओभरमा झारिएको थियो। त्यो खेलमा नेपाल विजयी भएको थियो।
युएई समूह ’ए’को विजेता हो भने नेपाल भने समूह ‘बी’को उपविजेता टोली हो। युएईले ४ खेलमा ७ अङ्क जोडेको थियो भने मलेसिया ६ अङ्क जोडेर समूह उपविजेता बनेको थियो।
समूह ‘बी’मा नेपालले ४ खेलमा ६ अङ्क जोडेको थियो। यो समूहबाट हङकङ ८ अङ्क जोडेर समूह विजेता बनेको थियो। अर्को सेमिफाइनलमा आजै हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल भोलि हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।