काठमाडौँ । शङ्कास्पद मृत्यु भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदै छ ।
घर पक्षले अमृताको छोराको शिक्षा-दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टि गर्न सहमत भएको हो ।
गएको चैत ३० गते राति शङ्कास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थियो । मृतकका दाजु पुष्प खड्काले माइती पक्षले राखेका माग पूरा गर्न घर पक्ष सहमत भएकाले शुक्रबार अन्त्येष्टि गर्न लागिएको बताए ।
अमृताको मृत्यु शङ्कास्पद रहेको भन्दै माइती पक्षले श्रीमान् प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिँदै सडक आन्दोलन गरेको थियो ।
अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रुपन्देहीले श्रीमान् प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो ।