काठमाडौँ । ललितपुर जिल्ला सरकारी वकिल कार्यालयकी सहायक न्यायाधिवक्ता संगीता थोकरले हेटौंडास्थित वाग्मती न्यायाधिवक्ताको कार्यालयमा गरिएको सरुवाको विरुद्धमा महान्यायाधिवक्ता खम्मबहादुर खातीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्।
थोकरलाई असार २ गते ललिलतपुरबाट हेटौंडा सरुवा गरिएको थियो । नाबालिका बलात्कार मुद्दामा कमजोर अभियोजनका लागि आफूले नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयले नियम विपरीत सरुवा गरेको थोकरले बताउँदै आएकी छन् ।
थोकरले दिएको असार ९ को निवेदनलाई सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । त्यसपछि सुनवाइ हुनुपर्ने माग गर्दै थोकरले पुनस् निवदेन दिएकी थिइन् ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजालसले आदेश दिएपछि थोकरले बुधबार मुद्दा दायर गरेकी हुन् । थोकरको उजुरीमा महान्यायाधिवक्ता खाती, उनको सचिवालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।
अदालतले थोकरको मुद्दाको सुनुवाइका लागि बिहीबारको समय तोकेको छ ।