काठमाडौँ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई छिट्टै सेयर जारी गर्ने भएको छ ।
कान्तिपुर टेलिभिजन २० औँ वर्ष प्रवेशका अवसरमा हिजो (बिहीबार) आयोजित विशेष समारोहमा केटिभीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने घोषणा गरेका हुन् ।
सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
‘हामीले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेका छौँ, यो सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएका हौँ,’ अध्यक्ष सिरोहियाले भने ।
उनले कान्तिपुर टिभी मुलुककै उत्कृष्ट र अग्रणी टेलिभिजन भएको बताए । उनले आमजनताको जनजीविका मुद्दादेखि राजनीतिक एजेन्डा स्थापित गर्न टेलिभिजन सक्षम भएको उल्लेख गरे ।
निर्देशकहरू उपेन्द्र महतो र जीवा लामिछानेले टेलिभिजनका लागि आगामी दिन चुनौती र अवसर दुवै भएकाले सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईले चुनौतीहरू भए पनि संस्था तिनलाई सामना गर्न प्रतिबद्ध रहेको बताए । समारोहमा वर्षका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टिभी च्यानल हो ।