काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना निर्माण गरिरहेको प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
इच्छुक स्थानीय लगानीकर्ताले आईपीओमा माछापुच्छ्रे बैङ्कको मादी शाखा कार्यालय, बैङ्क अफ काठमाण्डू, मुक्तिनाथ विकास बैङ्क र एनआईसी एसिया बैङ्कको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा छिटोमा साउन २० गते उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि भदौ ५ गते थप हुनेछ ।
आइपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेको आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको मितिले ३ वर्षपछि मात्रै बिक्री गर्न पाइनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।
यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरिरहेको छ ।