कर्णाली । ट्रयाक खुलेको झन्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनी घाट सडक खण्ड कालोपत्रे हुने भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो ।
यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ । वर्षौँसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए । विसं २०५१ सालमा उक्त सडक खण्डको ट्रयाक खोलिएको थियो ।
पूर्वाधार विकास निर्देशनालयले प्रदेश सरकारको ४२ करोड ४७ लाख ६१ हजार लागतमा बड्डीचौरदेखि खम्बागाडेसम्म १२ किमी सडक कालोपत्रे गर्न लागिएको जनाएको छ ।
बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनिसकेको थियो । पूर्वाधार विकास निर्देशनालयले कालोपत्रेका लागि निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग सम्झौता गरिसकेको छ ।
सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्रेको काम सम्पन्न गर्नुपर्नेछ । यही साउन ४ गते सोही क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले सडक स्तरोन्नति कार्यका शिलान्यास गरेका थिए । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ ।
राजमार्ग आयोजनाले काममा ढिलासुस्ती गरेपछि उक्त खण्डमा पर्ने करिब १३ किमी सडक प्रदेश सरकारले स्तरोन्नति गर्न थालेको हो । मन्त्री बुढा क्षेत्रीले जीर्ण र कच्ची सडकका कारण यात्रुले सास्ती पाएको भन्दै तोकिएको समय अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए । निर्माण व्यवसायी दिक्पाल शाहीले ट्रयाक सुधार, नाली निर्माणलगायतका काम पूरा गरेपछि कालोपत्रेको तयारी गर्ने बताए ।