वीरगन्ज । काँग्रेस नेता शेखर कोइरालाले पार्टीलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्ने बताएका छन् ।
प्रेस युनियन पर्साले आज (बुधबार) वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले काँग्रेसलाई क्षति नहुने गरी गठबन्धन गर्नुपर्ने बताएका हुन् ।
काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।
गठबन्धनका अन्य दलहरुले सबै कुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै उनले काँग्रेस नेपालको पुरानो, ठुलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको बताएका थिए ।
‘मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जाने भनेका छौँ । तर सबभन्दा कम क्षति हुने गरी कसरी जाने भन्ने हामीहरु छलफल गरिराखेका छौँ, कोइरालाले भने ।
पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै ‘सहमति, सहकार्य र एकताको भावना’ले अगाडि बढे मात्रै काँग्रेसको भविष्य उज्ज्वल हुने उनले बताए । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसका धेरै जनताहरूमा खुसी छाएको उनको भनाइ छ ।