काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आगामी सङ्घ तथा प्रदेशको चुनावलाई लक्षित गरी निर्वाचन अभियान तयारी समिति गठन गरेको छ । सो अभियान समितिमा सातवटै प्रदेशका प्रतिनिधि समावेश रहेका छन् ।
समितिमा प्रदेश १ बाट नवराज गुरुङ, मधेस प्रदेशबाट चन्देश्वर सदा, बागमती प्रदेशबाट पञ्चलाल महर्जन, गण्डकी प्रदेशबाट शर्मिला थापामगर, लुम्बिनी प्रदेशबाट मनिका कार्की, कर्णाली प्रदेशबाट बलिराज शाही र सुदूरपश्चिमबाट भिम थापा र हेमन्त मान्दव्य रहेका छन् भने सचिवालय सचिवमा सीपी सिंहलाई राखिएको छ ।
उनीहरू सबैजना केन्द्रीय सदस्यहरु हुन् । अगामी चुनावमा जोजो चुनाव लड्दैनन् ती व्यक्तिहरूलाई यो समितिमा राखिएको बताइएको छ । प्रत्यक्ष चुनाव नलड्ने तथा अधिकांश समय काठमाडौँ रहने नेतालाई सो समितिमा राखिएको छ । पार्टीले तयार गरेको निर्वाचन समिति निर्देशिकालगायत अन्य निर्णयहरूलाई कार्यान्वयन गर्नुको साथै पार्टीको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने काम यही समितिले गर्ने समितिका सचिवालय सचिव सीपी सिंहले बताए ।
चुनाव सम्बन्धी रणनीति बनाउनुको साथै जिल्ला तथा प्रदेशमा रहेका जिल्ला समितिका सदस्यहरु दक्ष बनाउनका लागि उनीहरूलाई तालिम दिनुको साथै निर्वाचनमा प्रचार प्रसारका डकुमेन्ट तयार पार्नुको साथै निर्वाचनका लागि चाहिने अन्य दस्ताबेजहरू यही समितिले तयारी पार्ने उनले बताए । अर्थात् निर्वाचनका विषयमा हुने हरेक गतिविधिमा यो समितिको संलग्नता हुने, देखिएका समस्या समाधान गर्ने जस्ता काम यो समितिले गर्ने उनले बताए ।
समितिको कार्यविधि तयार गर्ने काम भइरहेको छ । केही दिनमा यसको सम्पूर्ण विषय बाहिर आउने बताए ।