काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा बैठकमा छलफल हुनेछ।
सोमबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भएको हो।
आसन्न निर्वाचन, निर्वाचन तयारीका लागि विभिन्न समिति निर्माण, प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बन्धमा जारी आन्दोलनको समीक्षालगायत विषयमा आज छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए।
उनले तेस्रो चरणको आन्दोलनको मोडालिटीबारे पनि आज छलफल हुने जानकारी दिए। गत शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
उक्त भेटका क्रममा आगामी चुनावमा गठबन्धन गर्नेबारे छलफल भएको बताइएको छ।
ओलीसँग भएका कुराकानीबारे आज लिङ्देनले पार्टीमा जानकारी गराउने सम्भावना पनि छ।
चुनावमा एमाले र राप्रपाले एक-अर्कालाई सघाएर जान सक्ने सम्भावना देखिएको नेताहरूले बताउने गरेका छन्।