काठमाडौँ । नेपाल सरकारका दुई सचिवले सरुवाको पत्र बुझेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका अर्जुन पोखरेलले सामान्यका लागि पत्र बुझेका हुन् ।
करिब दुई साता अघिको निर्णय भनिए पनि दुवै सचिवले सरुवा भएको पत्र भने आज मात्रै बुझेका छन् । अधिकारीको यसअघि नै पर्यटन मन्त्रालयमा सरुवा हुने भनिएपनि मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले छोड्न नमानेकोले ढिलाइ भईरहेको थियो । नाइँ भन्न नसक्ने स्वभावका कारण सहजै काम गराउन सकिने भएपछि सरल र भद्र सचिव अधिकारीलाई रोक्न मन्त्री श्रेष्ठले अन्तिम अवस्थासम्म पनि निकै प्रयास गरेका थिए ।
पछिल्लो समय अधिकारीले थप बस्न देखाएको अनिच्छा र ठुलै शक्ति सङ्घर्ष पछि उनी सामान्य जालोबाट फुत्किन सफल भए भने सामान्यका लागि पनि निकै सचिवहरूको प्रयासपछि ‘शक्तिकेन्द्रको मिलान’ले गर्दा टुङ्गो लाग्न उति नै समय लागेको थियो ।
साउन १९ गते मात्रै पर्यटन र अर्थ खाली राखेर सरकारले आधा दर्जन जति सचिवको सरुवा मिलाएको थियो ।
सम्बन्धित समाचार : सचिव सरुवा टुङ्गियो : ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !
साता दिन पछि अर्थात् साउन २६ गते राजश्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिव र राजश्वमा रामेश्वर दंगाललाई सरुवा गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : अर्थ सचिवमा कृष्णहरि पुष्कर, राजस्वमा दंगाल
त्यसको ठिक ११ दिनपछि सोही दिनकै निर्णयमा दुई सचिवको सरुवा मिलान गरिएको छ ।
पछिल्लो समय कर्मचारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया भन्दा शक्तिकेन्द्रको ‘रोजाई’ र मन्त्रीहरूको ‘खोजाई’मा हुन थालेको छ । जसले स्थायी सरकारसमेत भनिने निजामती तन्त्र बिस्तारै राजनीतिक घुम्टोभित्र लुटपुटिँदै मात्र गएको छैन, अस्तित्व र पहिचान जोगाउनै मुस्किलको अवस्थामा पुगेको छ ।
यदि समयमै यसलाई मूल्य र मान्यतामा नफर्काउने हो भने थप बदनामित हुँदै नागरिक स्तरमै अझ बढी आलोचित हुँदै जाने पक्का छ ।