काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाहीसहित एमालेका केही नेता-कार्यकर्ता नेकपा एस प्रवेश गरेका छन् । पूर्वउपमेयर लक्ष्मीदेवी पाठकसहित २० जना लिएर नेकपा एसमा प्रवेश गरेको शाहीले बताए ।
वैशाख ३० को स्थानीय चुनावमा दाबी गरेका शाही टिकट नपाएपछि असन्तुष्ट थिए । उनले ५४ र ७४ को चुनावमा मेयर जितेका थिए । योपटक एमालेले धनेन्द्र घिमिरेलाई उठाएपनि घिमिरे पराजित भएका थिए ।
शाहीले नेकपा एस प्रवेश गरेका नेताहरू भनेर अशोककुमार शाही, लक्ष्मीदेवी पाठकसहित भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनीता लुइँटेल, सुजेन्द्र कार्की, बुद्धे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, विनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक, उमेश घिमिरेको सूची सार्वजनिक गरेका छन् ।
नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेय स्थानीय तहको निर्वाचनमा शाहीले एमाले उम्मेदवारले गरेको असहयोग गरेको वडाहरूबाट आएको रिपोर्टका आधारमा स्पष्टीकरण सोधिएपनि पत्र नै नबुझेको, टिकट नपाएपछि असन्तुष्ट भएको र अहिले सार्वजनिक भएका नामहरूमध्ये तीनजनाले आफूहरूले एमाले नछोडेको बताएका छन् ।
नेकपा एसका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको गृहनगर भएकाले पनि चुनावको मुखमा शाहीको टोलीले एमाले छाड्दा आसन्न चुनावमा एमाले उम्मेदवारलाई चुनौती थपिएको छ ।