काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।
शनिबार सकिएको केन्द्रीय कमिटीको बैठकले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने, जिल्ला र प्रदेशले त्यसमा थप सुझाव दिएर केन्द्रमा नाम पठाउने विधि तय गरेको हो । उम्मेदवारको अन्तिम टुंगो भने केन्द्रले लगाउने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार त्यसरी सिफारिस गर्दा एक महिलासहित ३ महिलाको नाम सिफारिस गर्नुपर्नेछ ।
तर समानुपातिकतर्फ एक पटक अवसर पाएकाहरुलाई आम रुपमा नदोहोर्याउन भनिएको छ । ‘एक पटक अवसर प्रयोग गरेका नेता, कार्यकर्तालाई आम रुपमा दोहोर्याउनु हुन्न । यस्ता क्षेत्रमा पालैपालो प्रणाली अपनाउनुपर्छ’ उपमहासचिव गुरुङले भने ।
स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न भनिएको छ ।