काठमाडौँ । विभिन्न ब्रान्डको लोगो राखेर चामल विक्री वितरण गर्दै आएका दुई जना पक्राउ परेका छन् । बिना अनुमति ‘सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ’को नाममा चामल विक्री गरेको आरोपमा दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ शनिहाट घर भई हाल काठमाडौँको छाउनी बस्ने २७ वर्षीय एस अग्रवाल र ओखलढुङ्गाको सुनकोसी गाउँपालिका-५ पात्ले घर भई हाल काठमाडौँको कुशेश्वर बस्ने २७ वर्षीय बाल कुमार भन्ने लाल बहादुर बस्नेत रहेका छन् ।
उनीहरूले विवरण नखुलेका लङ्गग्रेन र जिरा मसिनो चामललाई विभिन्न ब्रान्ड९थकाली लङ्ग ग्रेन, मुबारक लङ्ग ग्रेन, जन्नत, जन्नत जिरा, सुवास, साँचो सोनम, घैला, कोहिनुर, जिवा, साँचो क्लासिक, मुबारक क्याटरिना जिरा, स्पेसल अनेष्टी, सुवास उसिना लङ्ग ग्रेन, थकाली क्याटरिना, थकाली शाही बासमती, थकाली सोनम, थकाली उसिना, घैला सोना राईस लगायतको लोगो राखेर खाद्य अनुज्ञा पत्र नलिई बजारमा विक्री वितरण गर्दै आएको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरूमाथि खाद्य ऐन २०३३ बमोजिम थप अनुसन्धानको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बबरमहल पठाइएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ठुलै गिरोह रहेको आशङ्कामा प्रहरीले केही समयदेखि उनीहरूलाई निगरानी गर्दै आएको थियो ।
अनुज्ञा पत्र नलिई बिक्री गर्नु गैरकाननी कार्य भएको र यसरी बिक्री वितरण गर्नेलाई कडा कारबाही गरिने खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागका कर्मचारीसहित गएको प्रहरी टोलीले गोदाममा दर्जनौँ ब्रान्डको प्याकेटहरूमा प्याक गर्दै गरेको अवस्थामा फेला पारेको थियो ।

खाद्यान्नमा मिसावट गर्दै नक्कली ब्राण्डहरु विक्रिवितरण गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न जरुरी छ ।